नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ मा राजधानी काठमाडौंमा वृहत् जनसभा गर्दैछ ।
भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको भनिएको सो पार्टीले खुलामञ्चमा जनसभा गर्न लागेको हो ।
सभामा एक लाखभन्दा बढीलाई सहभागी गराउने योजना बनाइएको नेकपाले जनाएको छ । हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन । केही दिनअघि सत्तारुढ दल नेकपाको चियापान कार्यक्रममा आमन्त्रण गर्न खोज्दा ‘विप्लव बस्ने स्थान पत्ता नलागेको’ भन्दै उनलाई सार्वजनिक सूचना जारी गरेरै निम्तो दिइएको थियो ।
सभामा नेकपाले मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लाई आमन्त्रण गर्ने भएको छ । सो सभामा पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।