कञ्चनपुरकी एक महिलाले आफ्नै श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बलात्कार (जबर्जस्ती करणी) गरेको आरोपमा उजुरी दिएकी छन् ।
श्रीमतीलाई बलात्कार गरेको आरोप लागेका श्रीमानलाई श्रीमतीकै उजुरीपछि प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका– २, भाँसीकी मञ्जु जोशीले सोमबार आफ्ना पति डम्बर जोशीविरुद्ध उजुरी दिएकी हुन् ।
आफ्नो इच्छाविपरीत डम्बरले यौनसम्पर्क राखेको आरोप लगाउँदै मञ्जुले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णराज ओझाले बताए । उजुरी दर्ता गरेर जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको छ ।
अनुसन्धानका लागि डम्बरलाई पाँच दिन थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको छ । मञ्जु र डम्बरले डेढ वर्षअघि प्रेमविवाह गरेको तर अहिले बलात्कारको आरोपमा मुद्धा हाली पक्राएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।