पार्टी एकताको पाँच महिना बितिसक्दा पनि सत्ताधारी नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन ।
केन्द्रीय सचिवालय बाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन् । तल्लो तहमा तात्कालीन एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी कायमै छन् । यी दुई पार्टीबीच गत जेठमा एकता घोषणा भएको थियो । केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका छन् तर तिनको बैठक नै बस्ने गरेको छैन । यी दुवै कमिटी पार्टीको मुख्य राजनीतिक निर्णय र छलफल गर्ने थला हुन् ।
पाँच महिनामा स्थायी कमिटीका जम्माजम्मी दुई र केन्द्रीय कमिटीको एउटा बैठक मात्र बसेका छन्, त्यो पनि औपचारिकताका लागि मात्र । स्थायी कमिटीको बैठक पटक–पटक बोलाउँदै स्थगन गर्दै गरिएको छ । केन्द्रभन्दा मुनि प्रदेश, जिल्ला र स्थानीय तहमा अझै पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका बेग्लाबेग्लै संरचना कायमै छन् ।
त्यसैगरी, झन्डै साढे दुई दर्जन पार्टीसम्बद्ध जनवर्गीय संगठनहरु पनि छुट्टाछुट्टै छन् । खासै क्रियाशील नभए तापनि तिनको एकता हुन नसकी समग्र संरचना भिन्नाभिन्नै रहेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।