नेकपाका एक शीर्ष नेता वामदेव गौतमका निम्ति संसद छिर्ने बाटो तत्कालका लागि बन्द भए पनि ‘सक्रिय भूमिका’ का लागि भने गौतमको प्रयास जारी छ ।
राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो । पार्टी र सरकारबाट भूमिका नपाए पनि आफू ‘गैरनाफामूलक कम्पनी’ खडा गरेर विकास निर्माण अभियान सञ्चालन गर्ने तयारीमा रहेको खुलासा उनले बुधबरको अन्तर्वार्तामा गरेका थिए ।
अन्तर्वार्तामा उनले आफ्नो प्रस्ताव ‘कन्टेनरमा फालिएको’ भन्दै असन्तुष्टि जनाएका थिए– ‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो तर अब डेढ–दुई महिनामा सबै विषय खुलस्त हुन्छ । मैले किन र कस्तो भूमिका खोजेको हुँ भन्ने पनि प्रस्ट हुनेछ । तब यसअघि मलाई बदनाम गर्नेहरुले जिब्रो टोक्नेछन्, पश्चात्ताप गर्दै भुटभुटिनेछन्, चोटामा आएर लुटपुटिनेछन् ।’
नेता गौतमको यो संक्षिप्त अन्तर्वार्ता बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।