मुलुकमै पहिलो पटक लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गरिने भएको छ ।
इलामको माङसेबुङ गाउँपालिकाको एउटा वडामा लिम्बू भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो । संविधानले स्थानीय भाषालाई समेत कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएकाले यस्तो निर्णय गरिएको हो ।
लिम्बूबाहुल्य माङसेबुङ– ५ मा वडा समितिको आयोजनामा बसेको विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र संघ–संस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकशित छ ।