सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
नेकपाका स्थानीय नेताहरुका अनुसार उनी लामो समयदेखि धनगढीकै एक महिलासँग ‘प्रेम सम्बन्ध’ मा थिए । त्यसबारे स्थानीय नेता र कार्यकर्ताहरुलाई समेत पहिल्यैदेखि जानकारी थियो । यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक–पटक विवाद हुँदै आएको थियो ।
तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रिएको नेकपाका कार्यकर्ताहरुको भनाइ छ । यसमा नेकपाभित्रको गृटगत राजनीतिले थप मलजल गरेको स्थानीय नेता–कार्यकर्ता बताउँछन् ।
उनीहरुका अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेकर्ड केन्द्रसम्म पुगेपछि उनी मन्त्री पदबाट बर्खास्त हुने र पार्टी सदस्यता समेत खोसिने स्थिति आएको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।