कर्मारोङ गाउँपालिका– ५, दाउरा गाउँका ३० वर्षीय थेनसिंह लामा एक्लो एउटा गोरुले जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् ।
लामाले पछाडिबाट ‘अनौ’ समाएका छन् । उनकी पत्नी लाङ्मु एउटा गोरु डोर्याउँदै मेलो देखाउँदैछिन् । यहाँ एउटै गोरुले जोत्ने पुरानो चलन छ ।
थेनसिंह लामा भन्छन्, यो हाम्रो पूर्खादेखिको चलन हो । यो गाउँमा कसैले पनि दुर्इ वटा गोरु जोत्दैनन् । लामा जातिमा एउटा गोरु जोतेर खेती गर्नु पुर्ख्यौली परम्परा भएको अर्का स्थानीय ग्याल्जन लामाले बताए । ५१ परिवार लामा जातिको बसोबास रहेको दाउरामा सबैका गोठमा एउटै मात्र गोरु छ । सबैले एउटै गोरु जोतेर खेती लगाउँछन् ।
त्यहाँ पुरुष नहुँदा महिलाले पनि हलो जोत्छन् । ‘पुरुष घरमा नहुँदा हामी आफैं हलो जोतेर खेती लगाउँछौं’, स्थानीय याङ्जु लामाले भनिन्– ‘लोग्ने मान्छे व्यापारका लागि बाहिरफेर गैरहन्छ, घरमा लोग्ने मान्छे नहुँदा महिलाहरुले नै हलो जोतेर खेती लगाउने गरेका छौं ।’
नेपाली समाजमा रहेका विभिन्न प्रचलन र पहाडी जनजीवनको एउटा खास चलनबारेको यो खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।