पछिल्लो दुई वर्षयता जनकपुरमा भारतका तर्फबाट तस्रो पटक प्रमुख भ्रमण हुँदैछ । २०७३ कात्तिकमा राष्ट्रपति प्रणव मुखर्जीले जनकपुरको भ्रमण गरेका थिए ।
त्यसको एक वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट सोझै जनकपुर उत्रिए । मोदी आएको एक वर्ष नपुग्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार लखनउबाट जनकपुर आउँदैछन् । मुलुक संघीयतामा गएपछि मधेसको राजधानी (प्रदेश मुकाम) जनकपुरकेन्द्रित भएर छिमेकी मुलुकबाट उच्चस्तरीय भ्रमण भइरहेपछि राजनीतिक वृत्तमा त्यसको चर्चाको हुन थालेको छ ।
दुई वर्षभित्र प्रमुख तीन वटा भ्रमण हुनुका पछाडि भारतीय पक्षको के स्वार्थ होला ? उनीहरूको भ्रमणले मधेसको राजनीतिमा कस्तो असर पार्ला ? प्रश्नहरू अनुत्तरित छन् । मधेस मामिलामा कलम चलाउँदै आएका चन्द्रकिशोर भन्छन्– ‘पछिल्ला तीन प्रमुख भ्रमणले भारतको मधेसप्रति मोह बढेको भन्न मिल्दैन । जनकपुरप्रति आस्था भने अवश्य हो ।’
भारतमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार छ । भारतले नयाँ नेतृत्व चयन गर्न अगामी वर्ष चुनाव गर्दैछ । उक्त चुनावमा सीमा जोडिएको बिहारको जनमत भाजपाका पक्षमा आकर्षण गर्न मोदी र योगीले जनकपुर भ्रमण गरेको हुन सक्ने उनको भनाइ रहेको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।