newskoseli.Com

ठेकेदारको धरौटी एकाएक जफत : मेलम्ची झन् अनिश्चयतिर !

मेलम्चीको ठेकेदार पुनः काम गर्न आउला भन्ने आशा सबैलाई भइरहेका बेला खानेपानी सचिव गजेन्द्र ठाकुरले एकाएक उसको धरौटी जफत गरेका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको ठेकेदारको खाताबाट बिहीबार ठाकुरले ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराए । सचिव ठाकुरको यो कार्यपछि मेलम्ची झन् अन्योलतातर्फ धकेलिएको छ ।

खानेपानी सचिव र आयोजना प्रमुखले समयमै भुक्तानी गरेको भए मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सीएमसीले माघ २७ मा मेलम्ची खोलामा अस्थायी बाँध बाँधेर काठमाडौंमा पानी ल्याइसक्थ्यो । तर, खानेपानी सचिव र आयोजना प्रमुखका कारण उसले पाउनुपर्ने कानुनी रकम ३६ करोड रुपैयाँ दिइएन ।

ठेकेदारले पटक–पटक ताकेता गर्दै ‘भुक्तानी नपाए एकतर्फी रूपमा ठेक्का रद्द गर्ने’ चेतावनी दिँदै आएको थियो । ठेकेदारले यस्तो चेतावनी दिँदा पनि सचिव र आयोजना प्रमुख टसको मस भएनन् । अन्ततः पुस २ मा ठेकेदारले एकतर्फी रुपमा ठेक्का रद्द भएको सूचना सरकारलाई दियो । क्रिसमस र नयाँ वर्ष मनाउन इटाली फर्कन लागेका ठेकेदारका कर्मचारीलाई खानेपानी सचिव गजेन्द्र ठाकुरले पक्राउ गर्न र पासपोर्ट खोस्न लगाए ।

होटलमा छापा मारी ठेकेदारका कर्मचारीलाई पक्राउ गरियो । उनीहरूको पासपोर्ट जफत गरियो । सचिव ठाकुरले प्रचार गरे– ‘ठेकेदार सीएमसी अढाइ अर्ब रुपैयाँ लिएर भाग्न लागेकाले पक्राउ गरियो ।’

ठेकेदारले राखेको बैंक ग्यारेन्टी सरकारले चाहेमा जतिबेला पनि जफत गर्न सक्थ्यो । कानुनी प्रक्रियामा नगई अपराधीलाई जस्तो धरपकड गरियो । यति हुँदा पनि सीएमसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच वार्ता पनि चल्यो । वार्तामा उनीहरूले पहिलो शर्त राखे– पर्व मनाउन आफ्नो देश जान पाउनुपर्ने । सरकारले अनुमति दियो । पुस २३ मा ठेकेदारका प्रतिनिधि इटालियन राजदूतसहित नेपाल आउने कार्यक्रम बन्यो ।

उनीहरूले खानेपानी मन्त्री, सचिव, आयोजना प्रमुखलगायतका सरकारी पदाधिकारीलाई भेट्ने र बाँकी काम आफैंले गर्ने घोषणा गर्ने तयारी गरेका थिए । तर, खानेपानी सचिवको पछिल्लो कार्यले अवस्था झन् अन्यौलतातर्फ धकेलिएको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर