‘१५ हजार दिनुस्, आजै काम बन्छ ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे ।
सेवाग्राहीले पैसा दिन मानेनन् । काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गर्इ कानेखुसी गर्न थाले । ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए । १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए । आइतबार अपरान्ह ४स्१० बजे भक्तपुर मालपोत कार्यालयको भुइँ तलामा देखिएको दृश्य हो यो ।
बिहान १२ बजे । कार्यालयमा भीड थियो । सेवाग्राही फाइल बोकेर दौडिरहेका थिए । व्यस्त समयमा खरदार चित्रप्रसाद खतिवडा भने पटक–पटक कार्यकक्ष छाडेर कार्यालय परिसरमा निस्किइरहे । एक जना चस्मा लगाएका व्यक्ति उनको प्रतीक्षामा थिए । उनी बेला–बेला ती व्यक्तिसँग सुस्तरी कुरा गर्थे । खतिवडा भन्थे– ‘कति फिटको बाटो छ ?’ ती व्यक्ति सुस्तरी कुरा गर्थे । एकछिन कुरा गरेर खरदार खतिवडा कार्यालयभित्र छिरे । चस्मा लगाएका व्यक्ति उनलाई पर्खिरहे ।
करिव २ घन्टापछि खतिवडा फेरि बाहिर आए । फेरि सुरु भयो दुई जनाको खासखुस । खतिवडाले भने– ‘बाटो काटेर मिलाउँदा १२ सम्म त हुन्छ होला ।’ ती व्यक्तिले अनभिज्ञता जनाए । अन्त्यमा ती व्यक्ति खतिवडाको फोन नम्बर लिएर बाहिरिए ।
दिउँसो १२स्३० बजे । ५० कटेजस्ता देखिने एक व्यक्ति कार्यालयभित्रबाट ठूल्ठूलो स्वरमा हल्ला गर्दै बाहिर निस्किए । उनी कसैलाई गाली गदै थिए । भन्दै थिए– ‘म अहिले सारा समाजका अगाडि उभिएर बोलिरहेछु । थाहै नदिर्इ जग्गा पास गर्ने ? खै मेरो ५ प्रतिशत कमिसन ?’ गेटमा उभिएर रिसाउँदै फोनमा कुरा गरिरहे । त्यसपछि सडकमा पुगेर फोनबाटै थर्काइरहे । उनी भन्दै थिए– ‘तेरो घर नदेखेको हो र ? म त्यहीं आउँछु ।’
कमिसन पाउने आशामा उनले जग्गा मिलाइदिएछन् । तर, जग्गा लिने र दिनेले उनलाई पत्तै नदिर्इ पास गरेपछि उनी क्रुद्ध भएछन् । उनले पाउने २ लाख कमिसन पाएनन् । ‘बैना लिने बेलै आफ्नो भाग लिनु पर्थ्यो नि ! अब कराएर केही हुन्छ ?’ उनको कुरा सुनिरहेका एक जनाले सान्त्वना दिँदै सुझाएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।