newskoseli.Com

प्रहरीको ज्याकेट : टेन्डर पुसमा, आउने चाहिँ वैशाखमा !

पुस–माघको ठन्डी विनाज्याकेट गुजारेपछि चैत–वैशाखको गर्मीमा भने नेपाल प्रहरीका जवान तथा अधिकृतहरूले बल्ल ज्याकेट पाउने भएका छन् ।

देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले साढे १५ हजार ज्याकेट खरिद गर्न पुस दोस्रो हप्ता मात्रै प्रक्रिया अघि बढाएको छ । टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ ।

समयमा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २० डिग्री सेल्सियससम्मको कठ्यांग्रिने जाडोमा ज्याकेट नलगाई ड्युटी गर्न बाध्य छन् । खासगरी नयाँ भर्ना भएका प्रहरीले ज्याकेट पाएका छैनन् । उपत्यकासहित देशैभरिका प्रहरी कार्यालयमा यस्तो समस्या छ । प्रहरीको केन्द्रीय तथा प्रदेशस्तरको भण्डार रित्तो छ ।

१५ हजार ५ सय ज्याकेटसहित आवश्यक अन्य पोसाक, जुत्तालगायतका सामान खरिदका लागि १८ पुसमा टेन्डर आह्वान गरिएको प्रहरीको प्रबन्ध शाखाका प्रमुख डीआईजी नारायणसिंह खड्काले बताए । उनका अनुसार टेन्डर प्रक्रिया पूरा हुन कम्तिमा दुई महिना लाग्छ । एक महिनाको समय दिएर टेन्डर आह्वान गरेकाले माघ दोस्रो सातासम्म टेन्डर हाल्ने समय हुनेछ ।

त्यसपछि आशयपत्र माग्न तथा टेन्डरको निर्णय गर्न थप एक महिना लाग्नेछ । टेन्डर परेपछि मात्र ठेकेदार कम्पनीले ज्याकेट सिलाउन सुरु गर्ने भएकाले चैतअघि प्रहरीले ज्याकेट पाउने सम्भावना कम भएको खबर रातोपाटीमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर