newskoseli.Com

मोटरसाइकलबाट ‘यात्रु सेवा’ : कहाँ–कहाँ पाइन्छ ?

नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाए ।

यसले धेरै युवालाई रोजगारी दियो भने यात्रु पनि लाभान्वित भए । केही दिनअघि प्रहरीले एकाएक यस्ता सेवामाथि रोक लगाएपछि धेरैमा निराशा छायो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता सेवा अवरुद्ध नगर्न निर्देशन दिएपछि भने सञ्चालक र प्रयोगकर्ता दुबैलाई राहत मिलेको छ ।

यस्तो सेवा नेपालमा मात्र होइन, विश्वका अन्य देशमा पनि लोकप्रिय छ । जानकारहरूका अनुसार चीनमा सन् १९८० देखि १९९० को बीचमा मोटरसाइकल ट्याक्सी प्रचलित थियो । बेइजिङ, सङ्घाई र ग्वोङझाओमा अहिले पनि यस्तो सेवा पाइन्छ । त्यहाँ यसलाई निकै सस्तो सार्वजनिक यातायातका रूपमा लिने गरिन्छ ।

भारतको गोवामा मोटरसाइकल ट्याक्सी सेवा पाइन्छ । यो अन्य ट्याक्सीभन्दा सस्तो छ । भाडाको ट्याक्सीको कलर पहेंलो र कालो हुनुपर्छ । पछिल्ला वर्षमा भारतका अन्य सहरमा पनि विभिन्न कम्पनीले यो सेवा उपलब्ध गराउन थालेका छन् । भारतका आठ वटा राज्यले दुईपाङ्ग्रे सवारीलाई व्यावसायिक प्रयोजनका लागि वैधता प्रदान गरिसकेका छन् ।

कम्बोडियाका अधिकांश सहरमा मोटरसाइकल ट्याक्सीलाई सस्तो सार्वजनिक यातायातका रुपमा लिइन्छ । चालकलाई युनिफर्म दिइएको हुन्छ । चालकलाई हेल्मेट अनिवार्य छ । यात्रुले पनि आफ्नो सुरक्षाका लागि हेल्मेट लगाउन सक्छन् ।

इन्डोनेसियामा लाइसेन्स विनाको यातायातको साधनका रूपमा मोटरसाइकल ट्याक्सी चर्चित छ । यसलाई ‘ओजेक’ नामले चिनिन्छ । भियतनाममा भाडाको मोटरसाइकललाई सामान्य मानिन्छ । त्यसैगरी, एसियाका थाइल्याण्ड, फिलिपिन्स मात्रै होइन, युरोपको स्वीडेनमा समेत भाडाका मोटरसाइकलहरू चल्ने गरेका छन् ।

यस्तै, इन्टरनेटबाट प्राप्त जानकारी अनुसार ब्राजिलमा सन् १९९४ देखि मोटरसाइकल ट्याक्सी सुरु भएको हो । बैङ्क अफ ब्राजिलले १० वटा मोटरसाइकल किनेर भाडामा लगाउन सुरु गरेको जनाइएको छ । बाउरु, साओ पाउलो आदि सहरमा सन् १९९६ बाट यो व्यवसाय सुरु थियो ।

त्यसैगरी, मेक्सिकोमा करिव एक हजार भाडाका मोटरसाइकल ट्याक्सी सञ्चालनमा छन् । नाइजेरिया र लाओसमा लाखौंको सङ्ख्यामा मोटरसाइकल ट्याक्सीहरु सञ्चालनमा छन् । अफ्रिकी देशमा पनि भाडाका मोटरसाइकल प्रचलनमा छन् । लन्डनमा पनि सन् १९९० बाट भाडाका मोटरसाइकल प्रयोगमा आएका छन् ।

अमेरिकाको क्यालिफोर्निया र न्युयोर्क सिटीमा पनि सन् २०११ बाट मोटरसाइकल हायर सर्भिस सुरु भएको हो । क्यामरुनमा पनि मोटरसाइकल ट्याक्सीलाई आम सार्वजनिक यातायात मानिने खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर