प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफललाई एक सांसदले ‘फेसबुक लाइभ’ गरिदिपछि त्यसलाई हटाउन लगाइएको छ ।
समितिमा भएको छलफललार्इ राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले ‘फेसबुक लाइभ’ गरेका थिए । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भइरहेको दफाबार छलफल समितिकै सदस्यले मोबाइलबाट ‘लाइभ’ गरेपछि समितिकी सभापतिले त्यसलाई हटाउन आदेश दिएकी हुन् ।
समितिका सदस्यले भिडियो खिच्न नपाउने भन्दै समितिकी सभापति शशी श्रेष्ठले बैठक सञ्चालन भएको केही समयपछि त्यसलाई हटाउन आदेश दिएकी थिइन् ।
सभापति श्रेष्ठले सो आदेश दिएपछि सांसद साहले ‘पत्रकारले भिडियो खिच्नु हुने, हामीले किन नहुने’ भनेर प्रश्न गर्दै त्यसलाई फेसबुकबाट हटाएका थिए । ‘पत्रकारले मात्र पाउँछन् तपाईंले पाउनुहुन्न माननीयज्यू, त्यसलाई हटाउनुस्, समितिको मर्यादा कायम गर्नुस्’– सभापति श्रेष्ठले भनेको खबर सोमबारको पत्रपत्रिकामा प्रकाशित छ ।