बिहीबारदेखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो । ‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्यो,’ मौसमविद् सुवास रिमालले भने– ‘हिउँदमा कहिले कम र कहिले प्रभावशाली भएर आउने पश्चिमी न्यूनचापीय प्रभाव यो वर्ष प्रभावशाली भएर भित्रिएको छ ।’
मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय प्रभावका कारण बुधबार दिउँसोदेखि पश्चिमी नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवास रिमालले बताए । बिहीबार काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रमा यस्तै वर्षा हुनेछ ।
पश्चिमी हिमाली क्षेत्रमा एक–दुई स्थानमा हिमपात हुन सक्नेछ । बिहीबारबाटै वर्षा सुरु भई शुक्रबारसम्म रहने प्रक्षेपण गरिएको खबर वीरेन्द्र ओलीको बाइलाइनमा बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।