विद्युत् चुहावटमा लक्ष्यभन्दा बढी सफलता मिलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विद्युत् चुहावट १५ दशमलव ४५ प्रतिशतमा झरेको प्राधिकरणको दाबी छ ।
गत आर्थिक वर्षमा औसत विद्युत् चुहावट २० दशमलव ४५ प्रतिशत थियो । यो आर्थिक वर्षमा चुहावट साढे १८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य थियो । पहिलो ५ महिनामा लक्ष्यभन्दा बढी प्रगति भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
चुहावट कम गर्न प्राधिकरणले आफ्ना विभिन्न वितरण केन्द्रलाई फरक–फरक लक्ष्य दिएको थियो । प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत् चुहावटमा उल्लेख्य कमी आएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।