फिक्कल– २, चण्डीभञ्ज्याङमा बिहीबार बोलेरो रोकेर चालक झरे । केही सेकेन्डमै गाडी अचानक गुड्न थाल्यो ।
चालक पुनः बोलेरोमा पसेर स्टेयरिङ समाउँदै रोक्ने प्रयास गरे पनि सफल नभएको दुर्घटनाका घाइते जयप्रसाद न्यौपानेले सुनाए ।
बा १५ च ९४२२ नम्बरको बोलेरो चालकसहित सडकबाट २ सय मिटर तल पहरामा खस्यो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने नौ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी लोकदर्शन थापाले दिए । मृत्यु हुनेमा फिक्कल– २ की ५५ वर्षकी तिलमाया विक, वर्ष ६२ का कुनमान तामाङ, वर्ष ४५ की लक्ष्मी विक, वर्ष २५ की अनिता महत र वडा नम्बर ३ की वर्ष ३६ की शान्तामाया श्रेष्ठ छन् ।
महतको उपचारका क्रममा खुर्कोटस्थित शुभजीवन अस्पतालमा र अरुको घटनास्थलमै मृत्यु भएको डीएसपी थापाले सुनाए । घाइते हुनेमा चण्डीभञ्ज्याङका मानबहादुर सुनुवार (बोलेरो चालक), गंगामाया विक, जयप्रसाद न्यौपाने, दीपककुमार सुनुवार, दीपक श्रेष्ठ, फिक्कल– १ की चन्द्रमाया विक, राजेश सुनुवार, नन्दलाल विक र तीनपाटन गाउँपालिकाका गणेश घिसिङ छन् ।
फिक्कल–पोखरीबाट गाउँपालिका केन्द्र फिक्कलबेंसीतर्फ आउँदै गरेको बोलेरो चालकले पिसाब गर्न रोकेका थिए । सबै ढोका बन्द भएका कारण यात्रु निस्किन नसक्दा मानवीय क्षति भएको उद्धारमा संलग्न गाउँपालिका अध्यक्ष घनश्याम कार्कीले बताए । उनीहरू गाउँपालिका केन्द्रमा सञ्चालित शिविरमा आँखा जँचाउन आउँदै थिए । चालक पिसाब गर्न जाँदा न्युट्रलमा भएको गाडीको गियर कसैले चलाउँदा अचानक गुडेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
त्यसैगरी, बुधबार राति जन्ती बोकेको ट्रिपर सुनकोसी गाउँपालिका– २, कमेरे फाँटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो । ४० जना घाइते भएका छन् । बा ४ ख ९४३८ नम्बरको ट्रिपर रामेछापको खाँडादेवी गाउँपालिका– १, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कंदै थियो । दुर्घटनामा काभ्रेको तिमाल– ९ की २२ वर्षकी कृष्णमाया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा चालकसहित गम्भीर अवस्थामा रहेको थापाको भनाइ छ । उनीहरूलाई थप उपचारका लागि काभ्रेको धुलिखेल र काठमाडौंतर्फ पठाइएको खबर राजन गाउँलेको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।