मेलम्ची आयोजनको सुरुङमार्ग र हेडबक्स नै निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग सरकारले ठेक्का तोडेको छ ।
काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले यस्तो निर्णय लिएको हो । मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएमसीसितको ठेक्का तोडी उसले राखेको बैंक धरौटी जफत गर्ने निर्णय समेत गरेको छ ।
ठेक्का सम्झौता गर्दा सीएमसीले झन्डै साढे दुई अर्ब रुपैयाँ धरौटी राखेको छ । समितिले शुक्रबार नै बैंकलाई पत्र पठाई उक्त रकम जफत गर्नेछ । सरकारले दुई साताभित्र काममा फर्कन सक्ने गरी ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) माघ ६ मा सीएमसीलाई पठाएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।