मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई नेपाल प्रहरीले फिर्ता बोलाएको छ ।
‘विशिष्ट व्यक्ति’ सुरक्षा कार्यविधि विपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कायालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्वप्रहरी अधिकारीहरुको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरुलाई फिर्ता बोलाइएको हो ।
यस्ता २ सय ८० जना प्रहरीलाई नियमित ड्युटीमा खटाइएको प्रधान कार्यालयले जनाएको छ । ‘जस–जसका लागि अंगरक्षक खटाइएको छ, उनीहरुलाई सुरक्षा थ्रेट नदेखिएकाले २०७५ जेठदेखि नेता र पूर्वप्रहरी अधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो,’ स्रोतले भन्यो– ‘अहिलेसम्म २ सय ८० जना फिर्ता भएका छन् र यो क्रम जारी नै छ ।’
अंगरक्षक खोसिने पूर्वमन्त्री गोविन्दराज जोशी, अमरेश सिंह, टेकबहादुर गुरुङ, रामकृष्ण यादवसहित पूर्वआर्इजीपीहरु हेम गुरुङ, रमेश चन्द ठकुरी, ओमविक्रम राणा रहेको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।