newskoseli.Com

मलेसियाको रोजगारीलाई बनाइँदै ‘आकाशको फल’ : सांसदहरुबीच नै यस्तो चर्काचर्की !

९ महिनादेखि बन्द मेलेसियामा नेपाली युवाहरुको रोजगारीको विषयलाई लिएर बिहीबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवसँग चर्काचर्की भएपछि बैठक नसकिँदै अधिकांश सदस्य बाहिरिए । समितिले मेलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया सुरु गर्न र भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा इजरायलका लागि नवनियुक्त राजदूतसँग उद्योग, वाणिज्य तथा श्रमका विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।

नवनियुक्त राजदूतहरुसँगको छलफल जारी रहँदा सौहार्दपूर्ण तरिकाले बैठक सुरु भएको भए पनि मलेसियामा रोजगारीको विषय प्रवेशसँगै विवाद उत्पन्न भयो । समितिका सभापति श्रीवास्तवले मलेसियामा रोजगारी बन्द हुँदा परेका समस्याबारे बोल्न वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङलाई अनुमति दिँदा सांसदहरु एलपी साँवा लिम्बू र कृष्णप्रसाद श्रेष्ठले गणपूरक संख्या (कोरम) नपुगेको भन्दै बैठक स्थगित गर्न माग गरे ।

११ जना सांसद उपस्थित बैठकमा लिम्बू र श्रेष्ठले कोरम नपुगेको भन्दै गुरुङलाई बोल्न अवरोध गरेपछि समितिका सभापति श्रीवास्तवले छलफल अघि बढाउन निर्देशन दिए । छलफलका लागि बोलाइएको बैठकमा गणपूरक संख्या आवश्यक नपर्ने भन्दै श्रीवास्तवले विवाद नगर्न लिम्बू र श्रेष्ठलाई आग्रह गरे ।

समितिका सभापति श्रीवास्तवले बिहीबारको बैठक छलफलका लागि बोलाइएको र गणपूरक सँख्या नपुगी कुनै निर्णय नहुने बताउँदाबताउँदै लिम्बू र श्रेष्ठ बाहिरिए । उनीहरु बाहिरिएपछि बैठकमा उपस्थित अन्य सांसद पनि सँगै हिँडेको खबर रुद्र खड्काको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर