भू–मध्य सागरको वायुको प्रभावले फेरि देशैभरिको मौसम प्रभावित भएको छ । सोही प्रभावले गत साता झैं मध्यमदेखि हल्का वर्षा र हिमपात फेरि दोहोरिएको छ ।
उच्च पहाडी र हिमाली भेगमा यो क्रम अझै केही दिन जारी रहने भएको छ । भू–मध्य सागरको उच्च वायुमण्डलमा विकास भएको प्रणालीको असरले देशैभरिको मौसमलाई प्रभावित बनाएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए ।
निरन्तर ठूलो वर्षाको सम्भावना नरहे पनि छिटफुट र मध्यम वर्षा दोहोरिने बताउँदै उनले भने– ‘अब २–३ दिन मौसम प्रस्ट खुल्ने छैन, घमाइला दिन खासै हुने छैनन्, मौसम गडबड भइरहन्छ ।’
यसको प्रभावले सुधारोन्मूख तापक्रम फेरि घट्ने रिमालले बताए । सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै मंगलबार बेलुका सुदूरपश्चिम भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीको असरले बुधबारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ । महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार शनिबारसम्म मौसम प्रत्यक्ष प्रभावित रहनेछ ।
अन्यत्रको तुलनामा बिहीबार पश्चिमी भेगको मौसम केही बढी प्रभावित भएको थियो भने शुक्रबार पनि सोही भेगमा सो प्रभाव यथावत रहने रिमालले बताए । ‘शनिबार भने मध्य र पूर्वी भेगको मौसम केही बढी प्रभावित बन्ने गतिविधि विकास भइरहेको छ’– उनले भने ।
बिहीबार डडेलधुरा, वीरेन्द्रनगर, नेपालगञ्ज, धनगढी, दाङ, जुम्ला, दिपायल, भैरहवालगायत आसपासका भेगमा हल्का र मध्यम वर्षा भएको महाशाखाको तथ्यांक रहेको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।