सरकारले सेनाका लागि १ अर्ब रुपैयाँको हतियार किन्ने भएको छ । एम– १६ राइफल, गोलीगठ्ठालगायत खरिद गर्न लागिएको रक्षा मन्त्रालयले जनाएको छ ।
‘सेनालाई स्रोत–साधनसम्पन्न बनाउन लागिपरेका छौं,’ एक वर्षमा गरेका कामबारे जानकारी दिँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने– ‘सेना राख्ने हो भने हतियार त चाहियो नि ।’ तर, सार्वजनिक खरिद ऐन बाधक रहेको उनले सुनाए । ‘हाम्रो ऐन तथा नियमावलीले एकैचोटि भुक्तानी गर्न दिँदैन,’ उनले भने– ‘अमेरिकासँग जी–टु–जी सम्झौता गरेपछि एकै पटक पाउनुपर्छ भन्ने हो ।’
ऐन संशोधनको तयारी भैरहेको पनि उनले सुनाए । अमेरिकाले सन् २००२ देखि चार वटा ‘स्काई ट्रक’ अनुदानमा उपलब्ध गराउने बताउँदै आएको छ । तर, त्यो अझैसम्म पनि आएको छैन । अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा ‘जति सक्दो छिटो पठाउने तयारी रहेको’ बताएको खबर सुरेन्द्र काफ्लेको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।