जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीका कारण फेदाम गाउँपालिका– ३, जलजलेका चार घरपरिवारको थर परिर्वतन भएको छ ।
दलित जातिको ‘सार्की’ थरका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले दिएको नागरिकतामा तीन थरी थर लेखिएको छ । कसैको नागरिकतामा ‘नेपाली’, कसैकोमा ‘सार्की’ र कसैकोमा ‘मंग्राँती’ थर उल्लेख छ । यसरी एकै परिवारका सदस्यबीच पनि फरक–फरक थर कायम भएको छ ।
आफूहरुको जात सार्की भए पनि प्रशासनका कर्मचारीले नेपाली बनाएर नागरिकता दिएको स्थानीय टंकबहादुर सार्कीले बताए । २०४० पुस ८ मा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको उनको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत नूतननारायाण चापागाईंले हस्ताक्षर गरेका छन् ।
आफूहरुको नागरिकता दमाइँ जातिको हुँदा समाजमा बस्न समेत अप्ठ्यारो परेको उनले बताएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।