रवीन्द्र अधिकारी सरकारात्मक सोच भएको, अरुको दुःखमा साथ दिन खोज्ने, देशलाई माया गर्ने इमानदार व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्नो छोराको असल बाबा हुनुहुन्थ्यो, आफ्नो बाबाको असल छोरा हुनुहुन्थ्यो । म उहाँलाई श्रीमान् भन्दिनँ, मैले दुर्घटनामा एक असल साथीलाई गुमाएकी छु ।
हाम्रो भेट ०५० मा भएको हो । त्यस वर्षको अन्तिममा हेटौंडामा अनेरास्ववियुको सम्मेलन भयो । म बागमतीबाट प्रतिनिधि थिएँ, उहाँ गण्डकीबाट । सम्मेलनमा हामी दुवै निर्वाचित भयौं । त्यसै बेलादेखि आन्दोलन र संगठनमा भेटघाटले निरन्तरता पायो । सांगठनिक सहयात्रा थियो, आपसमा पनि नजिक हुन थाल्यौं ।
बिस्तारै हाम्रो स्वभाव मिल्ने जस्तो देखिन थाल्यो । हामी दुईबारे संगठनमा समेत चर्चा हुन थाले । यो जोडीले विवाह गर्दा राम्रो हुन्छ भनेर साथीहरुले सल्लाह पनि दिन थाले । तर, हामीले बिहेबारे सोचिसकेका थिएनौं । यस्तो चर्चा हाम्रो घरसम्म पुगेछ । दुवैको घरमा सल्लाह पनि भएछ । घरमा यसबारे सामान्य सोधपुछ भयो । यसलाई मेरै जिम्मा छाडिदिनुस् भनिदिएँ । उहाँहरुले सहज रुपमा लिनुभयो ।
हेलिकप्टर दुर्घटनामा हालै ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारीकी जीवनसंगिनीको भनाइसम्बन्धी यो समाग्री गोविन्द पुरीको बाइलाइनमा मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।