फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई ‘भान्से’ नियुक्त गरेर खुवाउँदै आएको तलब एकमुष्ठ फिर्ता गरेका छन् ।
उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टाराईलाई ‘भान्से’ नियुक्त गरेर मासिक १५ हजार ५ सय ९० रुपैयाँका दरले अहिलेसम्म खुवाएको ९६ हजार रुपैयाँ फिर्ता गरेका हुन् ।
उपमेयर भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूबाट गल्ती भएको स्वीकार्दै श्रीमतीले बुझेको ९६ हजार नगरपालिकाको सञ्चित कोषको खातामा जम्मा गरेको बताए । समयमै ऐन, कानुन, नीति–नियम, कार्यविधि, निर्देशिका उपलब्ध नहुँदा गल्ती भएको उनले बताएको खबर केशवप्रसाद भट्टराईको बाइलाइनमा बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।