प्रहरीको भ्यानलार्इ उद्धार कार्य तथा कुनै घटनाका आरोपितलाई पक्रेर हिरासतसम्म लैजान र विशिष्ट व्यक्तिको स्कर्टिङमा प्रयोग गरिन्छ । तर, कालिकोटमा भने प्रहरी भ्यानले बिरामी बोक्न थालेको छ ।
एम्बुलेन्स नहुँदा बिरामीलाई जिल्ला अस्पतालसम्म पुर्याउन प्रहरीको भ्यान प्रयोग गरिएको हो । गाउँमा कोही अकस्मात् बिरामी परेमा एम्बुलेन्सका रूपमा जिल्ला प्रहरी कार्यालयको भ्यान प्रयोग हुँदै आएको छ । तीन महिनादेखि जिल्ला अस्पताल एम्बुलेन्सविहीन भएको छ । यसअघि सञ्चालन हुँदै आएको बा २ झ १७४० नम्बरको एम्बुलेन्स मंसिर २६ मा दैलेखको जिरो प्वाइन्टनजिकै दुर्घटनामा परेपछि कालिकोट एम्बुलेन्सविहीन बनेको हो ।
एम्बुलेन्स नभएपछि सडकमार्गले जोडिएका नजिकका स्थानबाट बिरामी बचाउन प्रहरीले स्कर्टिङ भ्यान पठाउँदै आएको हो । फागुनमा मात्र ६ जना बिरामीलाई प्रहरीको भ्यानले अस्पताल पुर्याएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी विनोद शर्माले दिए । ‘अस्पतालमा एम्बुलेन्स छैन, गाउँमा सुत्केरी हुन नसकेका महिलालाई तत्काल अस्पताल पुर्याउन आफन्तले हामीलाई सहयोग माग्छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बिरामीलाई प्रहरीले आफ्नो गाडी पठाएर उद्धार गर्दै आएको छ’– उनले भनेको खबर बिस्नुप्रसाद न्यौपानेको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।