नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि जनाउँदै सत्तापक्षकै नेताहरु ‘प्रतिपक्षीको भूमिका’ मा देखिएका छन् ।
सत्तापक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई आदि यस्तो भूमिकामा देखिएका हुन् । युनिभर्सल पिस फेडेरेसन (युपीएफ) को आयोजनामा सम्पन्न ‘एसिया प्यासिफिक समिट’ मा सरकार र पार्टीका नेताहरुको सहभागिताप्रति पार्टीको स्थायी कमिटीका सदस्य रावलले तीव्र असन्तुष्टि प्रकट गरेका थिए ।
त्यस्तै, स्थायी कमिटीकै सदस्य योगेश भट्टराई दिगम्बर झाको नियुक्ति, मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समीम मियाँ अन्सारी नियुक्ति प्रकरण आदिमा पनि असन्तुष्ट देखिएका थिए । उनको भूमिका सत्तापक्षका नेताको नभई प्रतिपक्षको जस्तो छ ।
रावलले ‘होली वाइन’ प्रकरणदेखि सीके राउतसँगको सम्झौतासम्मलार्इ निरन्तर विरोध गरिरहेका छन् । स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले पनि ‘युनिभर्सल पिस फेडेरेसन’ को कार्यक्रमलाई लिएर सरकार र नेताहरुको आलोचना गरेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।