०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए ।
ललितपुरको बगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन् शान्ति खड्गी । चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो । कुनामा रहेको उनको पसलमा थुप्रै मानिस चिया पिउन आउँथे ।
खड्गीको परिवार बेरोजगार थियो । त्यसैले उनले गहना बेचेरै चिया पसल खोलिन् । पसल खालेको केही वर्षपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमितजसो आउन थाले यहाँ । ‘रङ कडा, चिनी कम भएको दूध हालेकै चिया रुचाउँथे प्रचण्ड,’ खड्गी भन्छिन्– ‘प्रचण्डपत्नी सीता पनि आउँथिन्, दुवैले दूध चिया रुचाउँथे । उनका छोरा प्रकाश र छोरीहरू भने आक्कलझुक्कल मात्रै देखिन्थे । खासै चिया खाँदैनथे ।’
चिया पिउँदै राजनीतिक गफ गर्थे प्रचण्ड । चासोसाथ पत्रपत्रिका पढ्थे । राजनीतिक परिवर्तनका बहस गर्थे । घोत्लिइरहन्थे । तर उनी एकाएक गायब भए । एकाएक हराउने व्यक्ति प्रचण्ड हुन् भन्ने थाहा थिएन ५६ वर्षीया खड्गीलाई । त्यसैले त उनी चिया खान आउन छाडेकोमा उनलाई खासै वास्ता पनि लागेन ।
तर, जब पत्रपत्रिकामा उनकोे तस्बिर छापियो त्यसपछि भने उनलाई अचम्म लाग्यो । ‘विभिन्न पत्रपत्रिकामा समाचार छापिन थालेपछि मात्रै चिया खान आउने मान्छे प्रचण्ड रहेछन् भन्ने थाहा पाएँ’, उनले भनिन्, ‘त्यति बेला अचम्म लाग्याथ्यो ।’
उनको मस्तिष्कमा त्यो बेलाका प्रचण्डको आकृति, वेशभूषा, भावभंगिमा स्पष्ट छ । त्यो बेलाको सम्झना गर्दै भनिन्– ‘त्यति बेला पनि प्रचण्डले अहिलेको जस्तै कपाल मिलाउँथे ।’ जनयुद्ध अगाडिका प्रचण्डको जीवनबारेको यो खबर नितु घलेको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।