सहिदगेटमा प्रयोग गरिएका सिङ्गमरमर (मार्बल) राणाको बैठक कोठाबाट उप्काएर ल्याइएका हुन् । इन्जिनियरद्वारा तयार पारिएको सुरु नक्सामा सहिदगेटमा मार्बल टाँस्नेबारे उल्लेख नै थिएन ।
निर्माण गर्दै जाँदा इन्जिनियरहरूले ‘फिनिसिङ राम्रो गर्नुपर्यो, आकर्षक देखाउन मार्बल टाँस्नुपर्ने भयो’ भनेपछि तत्कालीन राजा महेन्द्रले ‘हुन्छ’ भने र सिङ्गमरमर टाँस्ने योजना बन्यो । तत्कालै मार्बल ल्याउनुपर्ने भयो । बजेट पनि कमै थियो । सस्तो मार्बल खोज्ने क्रममा कुनै राणाजीको दरबारको बैठक कक्षमा रहेको मार्बल उपलब्ध हुन सक्यो र प्रयोग भइसकेका तिनै पुराना मार्बल ल्याई टाँसियो ।
‘सस्तो मार्बल खोज्दै थियौं, ब्रोकरले सस्तोमा मार्बल उपलब्ध गराइदिन्छु भने, हामीले हुन्छ भन्यौं’– सहिदगेटका डिजाइनर (इन्जिनियर) शङ्करनाथ रिमालले त्यस बखतको घटना स्मरण गरे– ‘ती ब्रोकरले राणाको दरबारबाट उप्काएर ल्याइएको हो भने, हामीले पनि कुन राणाको हो भनेर सोधीखोजी गरेनौं ।’
तिनताका काठमाडौंको जग्गाको भाऊ खासै थिएन । सरकारले सम्पत्तिमा तीन प्रतिशत कर लगाइदिएको थियो । करका कारण कतिपय राणालाई जीविकोपार्जन गर्न समस्या पर्दै गएको पनि थियो । ‘करले राणाजीहरूलाई आर्थिक समस्या पर्न थाल्यो । जग्गाको खासै भाऊ थिएन । त्यसैले उनीहरूले बैठकका मार्बल, फर्निचर आदि बेच्न थाले,’ उनले थपे– ‘उनीहरूले सस्तोमा मार्बल बिक्री गर्दा त्यसले काम दियो ।’
सो मार्बल ललितपुरको गोदावरीमा उत्पादन भएको खबर प्रकृति अधिकारीको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।