सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ ।
व्यक्तिका नाममा दर्ता भएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले फिर्ता लिने निर्णय गरिसकेकाले कसैलाई पनि क्षतिपूर्ति नदिने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताएका हुन् । ‘जसले ठगी गरेको छ, उसैले क्षतिपूर्ति तिर्छ । शेरबहादुर देउवा, विष्णु पौडेल वा सूवर्णसमशेरको हकमा पनि त्यही लागू हुन्छ । उहाँहरुको छ भने सरकारले लिन्छ, क्षतिपूर्ति तिर्दैन, हामीले जानेको त्यत्ति हो ।’
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने– ‘मैले धेरै पटक सरकारको पोजिसन स्पष्ट पारेको छु । कोहीप्रति रिसइबी साँध्ने हिसाबले पुरातात्त्विक उत्खनन गरे जस्तो विषय होइन, यो सुशासन र सुरक्षाभित्र पर्छ । यसमा चारतारे–लालतारे जो–कोही पर्नुभएको छ र तथ्य–प्रमाणले देखाउँछ भने कसैलाई पनि छुट दिन सक्दैनौं ।’
बहुचर्चित बालुवाटार जग्गा प्रकरणसम्बन्धी यो खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।