बंगालको खाडीको मध्य पश्चिमी भेगमा विकसित भएको चक्रवात ‘फानी’ को प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने भएको छ ।
सोही चक्रवातको प्रभावले शुक्रबारदेखि हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार भारतको ओडिसा तटीय क्षेत्रमा भित्रने ‘फानी’ को प्रभाव नेपालमा सोझै नभित्रिए पनि मौसमी उतारचढाव भने रहने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।
‘चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी तथा मध्य क्षेत्रमा शुक्रबार र शनिबार मौसम केही प्रभावित भई मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ’– महाशाखाद्वारा बिहीबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।
हिमाली भेगमा हल्का हिमपात हुने र आइतबारदेखि मौसममा क्रमिक सुधार आउने बताइएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।