सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा वैशाख १७ गते फरक दृश्य देखियो ।
निवासमा भीडभाड थियो । प्रदेश– २ का पार्टी सहइन्चार्ज विश्वनाथ शाह र अध्यक्ष प्रभु शाह एक हुल मानिस लिई दाहाल निवास पुगेका थिए । तराई–मधेस फोरमका अध्यक्ष अमर यादवलगायत उनको पार्टी नेकपामा बिलय गराउने कार्यक्रम हुँदै थियो त्यहाँ ।
त्यस्तो पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालयमा गर्नु आवश्यक ठानेनन् दाहालले, आफ्नै निवासमा आयोजना गरिदिए । पार्टीका स्थायी समिति सदस्य लीलामणि पोखरेल, नेताहरू प्रभु र विश्वनाथसहित प्रदेश सचिव सुमनराज प्याकुरेलको उपस्थितिमा दाहाल निवासमा कार्यक्रम भयो । त्यहाँ फूलमाला र खादा समेत उत्तिकै प्रयोगमा आयो । दाहालसँग फोटो खिँचाउन चाहनेको तँछाडमछाड देखियो ।
त्यसको दुई दिनअघि मात्र दाहालले नेकपा अध्यक्षको हैसियतमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिमण्डको ध्यानाकर्षणपत्र पनि आफ्नै निवासमा बुझेका थिए । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा छ । पेरिसडाँडामा पनि सम्पर्क कार्यालय छ । तर, उनी धुम्बाराहीस्थित पार्टी कार्यालयमै नपुगेको दुई महिना भइसक्यो ।
नेता–कार्यकर्ता भेटघाटदेखि दाहालका सबै कार्यक्रम निजी निवासमै हुन्छन् । पार्टी कार्यालयमा बनाउनुपर्ने कार्यक्रम समेत निजी निवासमा गर्ने गरी बनाइँदै आएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।