सरकारले शुक्रबार संघीय सांसदमा प्रस्तुत गरेको सरकारका नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । एक त नीति तथा कार्यक्रमको प्रूतुतिका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दावलीप्रति सत्तापक्षकै सांसदहरुको तीव्र असन्तुष्टि छ भने अर्कातिर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि पर्याप्त छलफल नगरिएकामा सांसदहरुले सरकारको आलोचना गरेका छन् ।
नीति तथा कार्यक्रम पारित गराउन ‘ह्विप’ जारी गर्नुभन्दा छलफल गर्नुपर्ने माग सांसदहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष अघि सारेका छन् । शनिबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा सांसद रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, जनार्दन शर्मालगायतले ‘मेरो सरकार’ शब्दावली स्वीकार्य हुन नसक्ने र गणतान्त्रिक मर्यादाअनुकूल नहुने तर्क गरेका थिए ।
शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा सरकारको नीति तथा कार्यक्रम राम्रो भएको भन्दै समर्थन गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए । २४ वैशाखमा नीति तथा कार्यक्रम पारित गर्न सहयोग गर्नू र २५ वैशाखदेखि बस्ने संसदीय दलको बैठकमा आ–आफ्ना धारणा राख्नू भन्दै उनले निर्देशन दिए ।
तर, सांसदहरु शर्मा, झाँक्री, पाण्डेलगायतले भने नीति तथा कार्यक्रममाथि छलफल गर्न पाउनुपर्ने माग अगाडि सारेका थिए । नेताको निर्देशन र ‘ह्विप’ मात्रै मात्रै जारी गर्ने नेताहरुको कार्य स्वीकार्य नभएको चेतावनी असन्तुष्ट सांसदहरुले दिएको खबर आइतबारको कान्तिपुर र नेपाल समाचारपत्र दैनिक लगायतमा प्रकाशित छ ।