बुबाको किरिया नगरेको भन्दै गाउँलेले ‘सामाजिक बहिष्कार’ गरेपछि धरमपुर, बाराको एउटा परिवार विस्थापित भएको छ ।
सूवर्ण गाउँपालिका– ६, धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो । अन्त्येष्टिपछि छोराहरु अवधेश र पप्पुले कपाल काटेनन् भने ‘हिन्दू संस्कार’ अनुसार किरिया पनि गरेनन् । परिवारले अपनाउँदै आएको ‘कविरापन्थी परम्परा’ अनुसार उनीहरुले ७ दिनमै बुबाको काजकिरिया सके ।
‘हिन्दू संस्कार’ अनुसार काजकिरिया नगरेपछि गाउँका केही ‘अगुवा’ ले गाउँले भेला डाके र यादव परिवालाई ‘सामाजिक बहिष्कार’ गर्ने निर्णय गरे । त्यसपछि ९ जनाको यादव परिवार ४ दिनदेखि गाउँ छाडेर हेटौंडाको कमानेमा बस्दै आएको छ । कमानेमा पहिलेदेखि अवधेशको कुखराको दानाको कारोबार रहेको खबर क्रान्ति शाहको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ । (तस्बिरः फाइल फाेटाे)