‘प्री–मनसुन’ कमजोर हुँदै जाँदा यतिबेला नेपालमा मौसमी तापक्रम बढेको छ । फागुनदेखि नै सक्रिय भएको ‘प्री–मनसुन’ वैशाखको दोस्रो सातासम्म राम्रै रहे पनि त्यसयता कमजोर बन्यो । फलस्वरुप देशका विभिन्न स्थानमा अत्यधिक तापक्रम बढ्यो ।
यतिबेला नेपालगञ्जमा सबैभन्दा बढी ४३.५ डिग्री सेन्टिग्रेड तापक्रम छ । धनगढीमा ४२.४ डिग्री आसपास तापक्रम छ भने भैरहवामा ४१.६ डिग्री रहँदै तेस्रो तातो सहर बनेको छ । चौथोमा दिपायल रहेको छ भने काठमाडौंमा ३२.५ डिग्री तापक्रम पुगेको छ ।
‘प्री–मनसुन’ कमजोर भएको अवस्थाले गर्मी बढाएको मौसमविद सुवास रिमालले बताए । ‘यो तातो बढ्ने समय हो तर गत सालभन्दा अलिक अगाडि नै गर्मी भएको छ,’ उनले भने– ‘सन्तुलन ल्याउन वर्षा हुनुपर्छ तर वर्षा प्रणाली त्यति बलियो छैन ।’
उनको अनुसार आइतबादेखि केही दिन हल्का पानी पर्नेछ त्यसले केही शीतल महसुस गराए पनि फेरि तातो बढ्नेछ । हिन्द महासागरबाट आउने एलनीनो वर्षा प्रणाली कमजोर रहेकाले नेपाल, भारतलगायतका भेगमा कतै बढी पानी पर्ने र कतै कम पानी पर्ने अवस्था रहने खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।