पूर्व र मध्य तराईको भ्रमणपछि केही दिन आराम गरेका पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । उनी पत्नी कोमल र नातिनीद्वय कीर्तिका तथा पूर्णिकासहितको टोली लिएर थाइल्याण्ड जान लागेका हुन् ।
बुहारी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली यसअघि नै थाइल्याण्ड पुगिसकेको छ । निर्मलनिवास स्रोतका अनुसार ज्ञानेन्द्र परिवार करिव एक महिना बसाइका निम्ति थाइल्याण्ड जान लागेको हो । ज्ञानेन्द्रका साथमा निजी सचिव सागर तिमल्सिना र सुरक्षा गार्ड हुनेछन् ।
आफ्नै स्वामित्वमा रहेको झापास्थित हिमालयन टी स्टेटमा फागुनभर परिवारसहित बसेका ज्ञानेन्द्र त्यसपछि तराई भ्रमण गरी अहलिे फेरि परिवारसहित थाइल्याण्ड जान लागेको खबर नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।