सरकारले हालै संसदमा पेस गरेको ‘मिडिया काउन्सिल विधेयक’ लाई केही कानुन व्यवसायी तथा पत्रकारले ‘भ्रष्टाचारलाई प्रोत्साहन गर्न ल्याइएको’ आरोप लगाएका छन् ।
स्वतन्त्र पत्रकार सङ्घ जिल्ला शाखा भक्तपुरले बुधबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बाेल्दै उनीहरूले भ्रष्टाचारका विरुद्धमा लेख्ने पत्रकारको मुखमा नत्थी कसेर भ्रष्टाचारलाई मलजल गर्न सरकारले यस्तो विधेयक ल्याएको आरोप लगाएका हुन् ।
वरिष्ठ कानुन व्यवसायी बालकृष्ण नेउपाने, स्वतन्त्र पत्रकार सङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष केबी सम्राट, स्वतन्त्र पत्रकार सङ्घ भक्तपुरकी अध्यक्ष डा. इन्दुल केसी, पत्रकार विजयबहादुर देउजा, अधिवक्ता यज्ञबहादुर कार्की, महेशजंग कुँवर, बद्री दुलाल, कृष्ण प्रजापतिलगायतले ‘प्रेस काउन्सिल नेपाल’ लाई विघटन गरी नयाँ स्थापना गर्न लागिएको ‘मिडिया काउन्सिल’ मा पदाधिकारीको नियुक्तिसम्बन्धी प्रस्तावित व्यवस्थाले पनि आम सञ्चारका माध्यमहरुलाई पूर्ण रुपले सरकारको नियन्त्रणमा राख्न खोजिएको स्पष्ट भएको आरोप लगाएको खबर राससले प्रेषित गरेको छ ।