राज्यले आफ्ना नेता तथा कार्यकर्तालाई छानीछानी पक्राउ गरेको भन्दै ‘प्रतिबन्धित’ विप्लव नेकपाका कार्यकर्ताले राजधानीलाई ‘आतंकित’ बनाउन थालेका छन् ।
उनीहरुले आइतबार विभिन्न ठाउँमा विष्फोट मात्र गराएनन्, जनजीवन ‘आतंकित’ बनाउन ठाउँ–ठाउँमा बम समेत राखे । प्रहरीले बलम्बु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद वस्तु फेला पारेको छ । ती शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले नियन्त्रणमा लिएको छ ।
राजधानीका दर्जनभन्दा बढी ठाउँमा बम राख्नुका साथै जनजीवन ‘आतंकित’ बनाएपछि सुरक्षा निकायले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उनीहरु विरुद्धको कारबाहीलाई तीव्रता दिने क्रममा विप्लव नेकपाका एक दर्जन भन्दा बढी कार्यकर्ता पक्राउ परेको उनले बताए ।
सशस्त्र प्रहरी बलले पनि विप्लव नेकपाका कार्यकर्तालाई हतियार तथा विष्फोटक पदार्थ सहित पक्राउ गरेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।