newskoseli.Com

महिलाको शंकास्पद मृत्यु : परिवारबाटै हत्या भएको माइतीको आरोप

फाइल तस्बिर

परिवारले नै कुटपिट गरी लहान नगरपालिका– १९, सिरहाको छर्रापट्टि गाउँकी २२ वर्षीया नुरजहाँ खातुनको हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । घाइते अवस्थामा बिहीबार राति लहान हुँदै विराटनगर पुर्‍याइएकी उनको विराट नर्सिङ होममा मृत्यु भएको थियो ।

सुखीपुर नगरपालिका– २, सिरहा, विद्यानगरकी खातुनको तीन वर्षअघि समीर राइनसँग विवाह भएको थियो । उनीहरूको ६ महिनाको छोरा र डेढ वर्षकी छोरी छन् । उनको शव विराटनगरबाट शुक्रबार दिउँसो घर ल्याउने क्रममा हत्या गरिएको भन्दै पोस्टमार्टम गराउनुपर्ने अडान माइती पक्षले लिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

मृतकका पति र सासू बाटोबाटै फरार

नुरजहाँलाई लिएर विराटनगर गएका पति समीर र सासू बतुलिया खातुन शव ल्याउने क्रममा सुनसरीको इनरुवामा ओर्लिएर फरार भएका छन् । मृतकको दाहसंस्कार गर्ने तयारीका साथ शव ल्याउँदै गर्दा माइती पक्षले प्रहरीमा उजुरी गरेपछि उनीहरू भागेको आशंका गरिएको छ ।

खिरौना लवटोली, सिरहा घर भएका मामा जहाँगिरका अनुसार भान्जीलाई राति कुटपिट गरी गम्भीर घाइते बनाएपछि अन्तिम अवस्थामा लहान ल्याइएको थियो । नुरजहाँका पति समीर बेरोजगार भएको र दिनभर साथीसंगीसँग बरालिएर घर फर्किने अनि आफूलाई लगातार कुटपिट गर्ने गरेको भान्जीले फोनमा सुनाउने गरेको जहाँगिरको भनाइ छ ।

लहानमा भान्जीको शव हेर्न आएका मामा जहाँगिरले भक्कानिँदै भने– ‘भान्जीको विवाह भएको तीन वर्षदेखि कहिल्यै कुटपिट नगरेको दिन नै थिएन, अन्ततः ज्यान नै लिए ।’ पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ ।

छोरीको विवाहमा खर्च भएको सात लाख ऋण तिर्न नुरजहाँका बुबा मो. मुस्ताक कतारमा पसिना बगाउँदै छन् । ‘दुई छोरीको बिहेमा १४ लाख ऋणको भारीले थिचिएपछि दाजु विदेशमा छन्,’ नुरजहाँका काका मो. जुमनले भने– ‘छोरीको अनुहार समेत हेर्न पाएनन् ।’ आमा सैबुल खातुन पनि रुने र बर्बराउने गरिरहेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर