newskoseli.Com

‘सुध्रिइन्’ राष्ट्रपति : नेपालगञ्ज पुगेर फर्किन् तर सडक जाम भएन !

सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालेको भन्दै विरोध भएपछि राष्ट्रपतिको सवारीमा ‘सुधार’ गर्न थालिएको छ । राष्ट्रपतिले सामान्य कार्यक्रमहरु सम्बन्धित स्थानहरुमा पुग्नुको सट्टा आफ्नै कार्यालयमै समेत उदघाटन गर्न सुरु गरेकी छन् ।

२१ जेठमा राष्ट्रपति भण्डारी नेपालगञ्ज गएकी थिइन् । अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा ‘नोटाम’ समेत जारी गरिएन । उनी नियमित उडानमार्फत गइन् र २३ गते फर्किइन् । यसबाट विमानस्थलमा कुनै असर नपरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।

भीआईपीको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा ‘नोटाम’ जारी गरेर अन्य उडान रोक्ने गरिन्छ, जसले दिनभरको उडान तालिका अस्तव्यस्त हुने गरेका छन् । सुरक्षाका कारण नभई भीआईपीको ‘सम्मान’ का लागि अन्य उडान रोकिने गर्दा सर्वसाधारणबाट आलोचना हुने गरेको थियो । यसमा पनि सुधारको प्रयास भइरहेको विमानस्थलका एक अधिकारीले बताए ।

‘भीआईपीको सुरक्षा कमान्ड सेनाले हेर्ने गर्छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले भने– ‘सेनाको सिफारिसमा ‘नोटाम’ जारी हुने हो, त्यसमा सुधार गर्न हामीले छलफल थालेका छौं ।’

गत साता राष्ट्रपति नेपालगञ्ज जाँदा र फर्कंदा विगतको तुलनामा ट्राफिक निकै कम प्रभावित भएको थियो । आइतबार भोटो जात्राको कार्यक्रम भने औपचारिक भएकाले सडक दुईतर्फ नै खालि गरियो । ‘विगतको तुलनामा हामीले थोरै मात्र सडकमा असर गर्ने गरी व्यवस्था मिलाएका थियौं’– महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भनेको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर