सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणमा गएसँगै पार्टीका नेताहरुलाई जिम्मेवारी दिने विषय लम्बिएको छ । पार्टी एकता भएको एक वर्षभन्दा बढी समय बितिसक्दा समेत सचिवालयकै नेताहरु जिम्मेवारीविहीन अवस्थामा रहेका छन् ।
महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेक सचिवालयका अन्य सदस्यहरुले नै कुनै पनि जिम्मेवारी पाउन सकेका छैनन् । तर पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण जिम्मेवारी बाँडफाँटको काम टुंगो लाग्न सकेको छैन । पार्टीको सचिवालय बैठक बस्ने गरे पनि समयको अभाव भएको भन्दै स्थगित हुँदै आएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली विदेश भ्रमणमा जानुअघि नै सचिवालय, स्थायी समिति र केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड हुने तयारी गरिएको थियो । तर, मापदण्डको विषयलाई लिएर अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्र विवाद चुलिएपछि तयार भएको प्रस्ताव समेत अगाडि बढन नसकेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।