काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दुरी । राष्ट्रपति कार्यालय महाराजगञ्ज–देखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दुरीमा आउन १७ मिनेट लाग्ने ‘गुगल म्याप’ ले देखाउँछ ।
सुन्दा अचम्म लाग्छ, यति छोटो दुरीमा रहेको राष्ट्रपति कार्यालय महाराजगञ्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्म पत्र पुग्न भने पाँच दिन लागेको छ । राष्ट्रपति कार्यालयले संसद् सचिवालयमा पठाएको पत्र पाँच दिनपछि मात्र प्राप्त भएको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । राष्ट्रपति कार्यालयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी तोकिएको पत्र महाराजगञ्जबाट संसद् सचिवालयमा पुग्न पाँच दिन लागेको हो ।
उनै प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुनका लागि राष्ट्रपति कार्यालयबाट एकै दिनमा पत्र सिंहदरबार पुगी सोही दिन शपथको कार्यक्रम समेत तय भएको थियो । यस्तै, संसद् अधिवेशन आह्वानका लागि प्रधानमन्त्री कार्यालयले पठाएको पत्र समेत एकै दिनमा राष्ट्रपति कार्यालय पुगी सोही दिन अधिवेशन आह्वानको पत्र संसद् सचिवालयमा पुगेको घटना पनि ताजै छ ।
प्रधानमन्त्रीको युरोप भ्रमणको विषयमा संसदलाई कुनै जानकारी नै नदिइएको तथ्य पनि सार्वजनिक भएको छ । प्रधानमन्त्री युरोप भ्रमणमा गएको पाँचौं दिन बुधबार मात्रै संसदलाई भ्रमणको आधिकारिक जानकारी प्राप्त भएको छ । राष्ट्रपति कार्यालयका सचिव विनोद केसीले २४ जेठमा ‘राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीमा सहभागी हुन २५ जेठमा त्यसतर्फ जाने भएकाले संविधानबमोजिम प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेललाई तोक्नुभएको’ भन्ने पत्र संसद् सचिवालयलाई पठाएका थिए । पाँच दिनपछि मात्रै सो पत्र पुगेको खबर सविन शर्माको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।