सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा आपत्ति जनाउँदै सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । सञ्चारमन्त्री बाँस्कोटाले गुठीलाई सामन्ती प्रथासँग जोडेर अभिव्यक्ति दिएको भन्दै काठमाडौं– ५ का सांसद मानन्धरले कडा आपत्ति जनाएका हुन् ।
‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ, कि सार्वजनिक माफी माग्दै त्यो कुरा फिर्ता लिनोस् होइन भने राजीनामा दिनोस्,’ रिपोर्टस् क्लबद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सांसद मानन्धरले भने– ‘सरकारका प्रवक्ता भएर यस्तो कुरा गर्नुहुन्छ भने राजीनामा बाहेक अर्को बाटो हुँदैन ।’
गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका राजधानीवासीलाई सान्त्वना दिनु पर्नेमा आगोमा घिउ थप्ने काम गरेको भन्दै गुठियारलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीको दिनगन्ती सुरु भएको मानन्धरले बताएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।