सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले बेला–बेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ । ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका ‘भीआईपीहरूका लागि कोलोनी नै तयार हुने विभागले जनाएको छ ।
आवास निर्माण नसकिँदासम्म भने प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सरकारले अपार्टमेन्ट भाडामा लिने भएको छ । खुमलटारस्थित डाउनटाउन अपार्टमेन्टमा १५ वटा फ्ल्याट लिने सम्झौता गरिसकेको सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले बताए ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि दुई बेडरुम, बैठक कक्ष र भान्सा भएका १४ र एउटा थप फ्ल्याट लिन लागिएको विभागले जनाएको छ । प्रत्येक फ्ल्याटको भाडा मासिक ५५ हजार रुपैयाँका दरले महिनाको ८ लाख २५ हजार रुपैयाँमा सम्झौता गरिएको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।