नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल बिहीबार प्रहरीसँगको भिडन्तमा मारिएको नभई प्रहरीका तर्फबाट भएको एकोहोरो हमलामा हत्या गरिएको दाबी उनका आफन्तजनले गरेका छन् ।
लालबन्दी– १, लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो गस्ती जाँदै गरेको प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा गोली लागेर पौडेल मारिएको दावी जिल्ला प्रहरी कार्यालय सर्लाहीले गरेको छ । ४७ वर्षीय छोरा गुमाएका वाग्मती नगरपालिका– २, धरहराका ७२ वर्षीय खिलकराज पौडेल गहिरो शोकमा छन् ।
‘मुलुकमा गणतन्त्र आएको छ कि छैन ? मेरो छोरालाई प्रहरीले समातेर गोली हानेको छ,’ उनले भने– ‘गोली हानेर मारेपछि पनि लास हेर्न दिएको छैन ।’ गणतन्त्रमा सबै विचारका पक्षधरले आ–आफ्ना कुरा राख्न पाउनुपर्ने अधिकार रहेको उनले बताए ।
‘राज्यका लागि केही गलतै गरेछ भने पनि प्रहरीले पक्राउ गरेर कानुनी कारबाही चलाउनुको साटो समातेर गोली हानेर मार्न पाइँदैन,’ उनले भने– ‘निर्दोष र निःशस्त्र मान्छे मार्ने सरकार कसरी गणतन्त्रको पहरेदार हुन सक्छ ? मुलुकमा अहिले गणतन्त्र होइन, लुटतन्त्र छ– यसैका विरुद्धमा आवाज उठाउँदा मेरो छोरालाई सत्ताधारी नेकपाका केही नेताको उक्साहटमा मार्न लगाइएको छ ।’
पुत्रशोकमा रहेका कुमारका बुबाको भनाइसम्बन्धी यो खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।