तिब्बतबाट काठमाडौंसम्म रेलमार्ग बनाउने प्रतिबद्धता चीनले पटक–पटक व्यक्त गरेको छ । तर, यसमा हतार नगर्न र प्रचारमा भन्दा काममा विश्वास गर्न नेपाललाई फेरि ‘सतर्क’ गराएको छ । रेलको विषयमा थोरै काम र धेरै प्रचार भएकामा चीनको गुनासो छ ।
५ असारमा बेइजिङमा भएको नेपाल–चीन रेलवे वार्तामा चीनले नेपाली पक्षलाई स्पष्ट पारेको छ– ‘रेल सम्भव छ तर हतार नगरौं ।’ नेपालको पक्षबाट भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र चीनबाट त्यहाँको राष्ट्रिय रेल प्रशासनका उपप्रशासक आन लुसङले वार्ता टोलीको नेतृत्व गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको चीनको राजकीय भ्रमणमा राष्ट्रपति सी जिनपिङले राजनीतिक प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । तर, प्राविधिक रुपमा रेलमार्ग निर्माण सहज नभएको भन्दै चिनियाँ पक्षले संयमित भएर काममा ध्यान दिन सुझाव दिएको खबर पर्शुराम काफ्लेको बाइलाइनमा बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।