संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौं उपत्यकाका सबै विश्वसम्पदालाई ‘खतराको सूची’ मा राख्ने प्रस्ताव गरेको छ ।
जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने युनेस्कोको ४३औं सेसनमा सो प्रस्तावबारे छलफल हुने भएको छ । प्रस्ताव पारित भए काठमाडौं उपत्यकाभित्रका विश्वसम्पदामा सूचीकृत क्षेत्रहरुको अन्तर्राष्ट्रिय पहिचान संकटमा पर्न सक्ने चिन्ता पुरातत्त्व विभाग स्रोतले व्यक्त गरेको छ ।
उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण मन्दिर क्षेत्र विश्वसम्पदामा छन् । उपत्यकामा भूकम्पद्वारा क्षतिग्रस्त पुरातात्त्विक दरबार र मन्दिर पुननिर्माणमा ढिलाइ गरेको, सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको, पशुपतिनाथ क्षेत्रको बीचाट सडक खोलेको, कंक्रिटको संरचना बनाएको उल्लेख गर्दै खतराको सूचीमा राख्ने प्रस्ताव युनेस्कोले गरेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।