राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको १ सय ६५ मध्ये करिव ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको छ । उपत्यका भित्रने र बाहिरिने बस पार्किङका लागि छुट्याइएको क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प चलाइएका छन् ।
बसपार्कमा प्रयोजनअनुसार काम नभएको यातायात विभागका महानिर्देशक कुमार दाहालले बताए । ‘उद्देश्य एउटा, प्रयोजन अर्कै भएको छ, बस पार्किङ गर्ने स्थान छैन,’ उनले भने– ‘करिव ७० रोपनी जग्गामा मात्र पार्किङ बनाइएको छ, ३० प्रतिशत बसपार्क अतिक्रमण भएको छ ।’
जापान सरकारको सहयोगमा २०४९ मा नयाँ बसपार्क निर्माण गरिएको थियो । सरकारले काठमाडौं महानगरपालिकालाई सञ्चालन र व्यवस्थापनको जिम्मा लगाएको थियो । ‘अहिले पार्किङका लागि ठाउँ छैन भनेर हल्ला हुँदै छ तर पार्किङका लागि दिइएको जग्गामा अरू नै भवन निर्माण गरिएका छन्,’ महानिर्देशक दाहालले भने– ‘अत्याधुनिक र प्रविधियुक्त बसपार्क बनाउनुको साटो विकृत बनाइयो ।’
महानगरपालिकाले लोत्से बहुउद्देश्यीय प्रालिलाई ४५ वर्षका लागि जिम्मा दिएपछि त्यहाँ अतिक्रमण बढेको दाहालको भनाइ छ । ‘जग्गा नेपाल सरकारकै नाममा छ, महानगरले लामो समयका लागि लोत्सेलाई दिएको छ,’ उनले भने– ‘अब यसमा सरकारले कुनै नयाँ संरचना निर्माण गर्न सक्ने अवस्था छैन ।’
सबैतिर सरकारी जमिन अतिक्रमणकै श्रृंखलाका रूपमा नयाँ बसपार्क समेत अतिक्रमण भएको यो खबर दीपेन्द्र विष्टको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।