प्रधानमन्त्री एवम् सत्ताधारी नेकपाका अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा आफूले ‘अध्ययन नै नगरी हस्ताक्षर गरेको’ दावी गरेका छन् ।
पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने– ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ । उहाँ (पुष्पकमल दाहाल ‘प्रचण्ड’) ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ । त्यसपछि मात्रै मैले अध्ययन गरेको हुँ ।’
गोप्य भनिएको उक्त सहमति बीचमै सार्वजनिक भएपछि र सो सहमतिका विषयमा अध्यक्ष प्रचण्डले केही अघि एक टेलिभिजन अन्तर्वातामै खुलाइदिएपछि नेकपाभित्र विवाद देखिएको थियो । सोही विवादबारे सोमबार संसदीय दलको बैठकमा सांसदहरुले व्यापक जिज्ञासा राखेपछि अध्यक्ष ओलीले यस्तो जवाफ दिएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।