भारत जाने, त्यहीं पढ्ने अनि केही कमाएर पठाउने । यही आशामा माल परिवारले ६ वर्षअघि छोरालाई बिदाई गरेको थियो । जसै छोरा फर्किए– अहिले भने परिवारको होसहवास उडेको छ ।
गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालिका– १, दोमिल्लाका सुरेन्द्र माल पहिलेजस्तो रहेनन् । नाम फेरिएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंग समेत काटिएको छ ।
भारत पस्दा १८ वर्षका थिए । त्यहीं उनको दुई वर्षअघि जबर्जस्ती लिंग काटिएको हो । तेस्रोलिंगीहरुको समूहले लिंग काटिदिएको सुरेन्द्रले बताए । त्यसपछि उनलाई केटीको पहिरनमा विभिन्न नाचगान र शुभकार्यमा ताली बजाउन र नाच्न लगाइयो । रेलवे स्टेसन र वसपार्कमा माग्न लगाइयो ।
सुरेन्द्रका अनुसार मेरठ बस्ने इलियास नामका व्यक्तिले उनको यो अवस्था बनाइदिएका हुन् । इलियासले नै उनको कमाइ खान्छन् । ‘मागेर महिनामा ४०–५० हजार भारतीय रूपैयाँ हुन्थ्यो, त्यो सबै उसैले लैजान्थ्यो,’ न्याय माग्दै मंगलवार जिल्ला प्रहरी कार्यालय पुगेका सुरेन्द्रले भने– ‘मलाई माग्ने बनाउनकै लागि लिंग काटेर फान्न लगाइयो ।’
छिमेकी ‘मित्रराष्ट्र’ भारतमै नेपाली नागरिकले भोग्नुपरेको एउटा दुःखद र अचम्मलाग्दो व्यवहारसम्बन्धी यो खबर भवानी भट्टको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।