आफन्तको आशौचका कारण २३ असारको जन्मोत्सव नमनाउने निर्णयमा पुगेका पूर्वराजा ज्ञानेन्द्र सपरिवार फर्पिङस्थित हात्तीवन रिसोर्टमा पुगेका छन् ।
जन्मदिनको अघिल्लो दिन आइतबार उनी हात्तीवन रिसोर्ट पुगेका थिए । ज्ञानेन्द्रसँग पूर्व ‘श्री ५’ लाग्ने सबैको हात्तीवन रिसोर्टमै जमघट छ । विगतका वर्षहरुमा राजावादी समूहले उनको जन्मदिनमा रामै साथ दिएको भए तापनि यस पटक ७३औं जन्मदिन मनाउने जाँगर भने उनले देखाएनन् ।
ज्ञानेन्द्र शाह पूर्वरानी कोमल, बुहारी हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाति हृदयेन्द्रलाई समेत लिएर आइतबार दिउँसै रिसोर्टमा पुगेका हुन् । सोमबार बिहान छोरा पारस, बालसखा प्रभुशमसेर जबरा, पूर्वसैनिक सचिव शान्तकुमार मल्लसहितका आफन्तहरु रिसोर्ट पुगेका थिए ।
मंगलबार रात्रिभोज मनाउन छोरी, ज्वाइँ, धीरेन्द्रपुत्री र ज्वाइँहरु, बहिनीलगायत पूर्व ‘श्री ५’ लाग्ने सबैको जमघट हुने भएको छ । बन्दोवस्तीका लागि भने निजी सचिव सागर तिमल्सिना बाहेक अन्य कर्मचारीको उपस्थिति देखिएको छैन । ‘कुनै पनि कर्मचारीले ज्ञानेन्द्रलाई शुभकामना दिन पाएका छैनन्’– एक कर्मचारीले भनेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।